तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण अन्तिम चरणमा, उत्पादनको तयारी


दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजना निर्माणको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य पूरा भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको छ।

भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङको काम लगभग सकिएको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

विद्युत्गृहमा टर्बाइन र जेनेरेटर जडान हुँदै

आयोजनाको भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको काम अघि बढाइएको छ। विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको भण्डारीले बताए।

सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणको काम पनि समानान्तर रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ।

बाँध सञ्चालन भवन निर्माण जारी

वातावरणीय बहाव व्यवस्थापनका लागि निर्माण गरिने विद्युत्गृह तथा बाँध सञ्चालन भवनको काम पनि जारी छ। भूमिगत विद्युत्गृह र सुरुङका अधिकांश संरचना निर्माण सम्पन्न हुने चरणमा पुगेसँगै आयोजनाले उपकरण जडान र परीक्षणलाई प्राथमिकताका साथ अघि बढाएको छ।

प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ। १४० मेगावाट क्षमताको यस आयोजनाको प्रमुख संरचना निर्माण अन्तिम चरणमा पुग्नु विद्युत् उत्पादनतर्फको महत्त्वपूर्ण प्रगति मानिएको छ।