काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा ७ देखि ८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्न पनि कठिन हुने बताएका छन्। रसुवा बाढीले पुर्याएको क्षति तथा राहत र उद्धारका सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री वाग्लेले विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै अब सहुलियतपूर्ण ऋणको विकल्प नरहेको बताए।
‘हामीले एक दिनमा उठाउने राजस्व पनि विदेशीले वर्षभरि दिने अनुदान कम हुन थालिसक्यो, अब सहुलियतपूर्ण ऋणको विकल्प छैन,’ उनले भने।
चालु आर्थिक वर्षका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त हुने अनुमान गरेको थियो। तर, बजेट आएको पाँच महिनापछि अर्थमन्त्रीले उक्त अनुमानको करिब १० प्रतिशत अर्थात् ७ देखि ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै अनुदान प्राप्त हुने प्रक्षेपण गरेका हुन्।
सरकारको प्रारम्भिक अनुमान र पछिल्लो प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ। यसले चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिको अवस्था निकै कमजोर रहने संकेत गरेको छ।

















प्रतिक्रिया