काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ । चाडपर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त र व्यवस्थित बनाउने व्यवस्था मिलाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिभर विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनबारे आवश्यक निर्णय गरेको छ । बैठकले प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग समन्वय गरी जनशक्ति परिचालन र विद्युत् प्रणालीको निगरानी प्रभावकारी बनाउने निर्णय गरेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गर्न प्राविधिक टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । उनले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न नो लाइट सेवालाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिएका छन् ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तर, सोही अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण रहेकाले विद्युत् माग व्यवस्थापनमा कुनै समस्या नहुने जनाइएको छ ।
यसैबीच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था नियमित जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र कुनै समस्या देखिए दक्ष प्राविधिकबाट मात्रै मर्मत गराउन अनुरोध गरिएको छ ।
विद्युत् आपूर्तिमा समस्या आएमा वा कुनै गुनासो भएमा नजिकको वितरण केन्द्र अथवा नो लाइट सेवामा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
तिहार र छठजस्ता उज्यालो तथा उल्लासका पर्वमा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणले प्रणालीको निगरानी, जनशक्ति परिचालन र तत्काल मर्मतसम्भारलाई प्राथमिकतामा राखेको छ ।

















प्रतिक्रिया