काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक, घाट सजाउने तयारी सुरु


काठमाडौँ । छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा घाट निर्माण र व्यवस्थापनको काम तीव्र पारिएको छ। पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि १७ स्थानमा पूजा गर्ने तयारी गरिएको छ।

उपत्यकाका गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा घाट निर्माण, सरसफाइ तथा आवश्यक पूर्वाधार व्यवस्थापन भइरहेको छ।

छठ पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा गर्ने परम्परा छ। चार दिनसम्म धार्मिक विधि र श्रद्धाका साथ मनाइने यस पर्वमा सूर्यदेवको उपासना गरिन्छ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। त्यहाँ पाल टाँग्ने, बत्ती जडान गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए।

उपत्यकामा छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको उल्लेख गर्दै सिंहले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन व्यवस्थापन समितिले आवश्यक काम गरिरहेको उनको भनाइ छ।

काठमाडौँमा छठ पूजा गरिने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु रहेका छन्। यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुको बाइसधारामा पनि छठ पूजा गर्ने तयारी गरिएको छ।

काठमाडौँ महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ। बालाजु बाइसधारा र वंशीघाटलगायत क्षेत्रमा पनि घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ।

यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। यसले छठ पर्वप्रतिको धार्मिक आस्था र सांस्कृतिक सहभागिता देशका विभिन्न क्षेत्रमा बढ्दै गएको देखाउँछ।