चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो पन्छाए पनि सडकमा सवारीसाधनको चापका कारण दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भएको छ ।
आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर, चाडपर्वका कारण सवारीसाधनको चाप बढेपछि दुईतर्फी आवागमन सहज बनाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार ठूलो पहिरो खसेको र पहिरो पन्छाउने मजदुरसमेत बिदामा गएकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको हो ।
उनका अनुसार पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । सामान्य पहिरो खसेमा तत्काल हटाएर सडक सञ्चालन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
मौसमको अवस्था, सवारीसाधनको चाप र अन्य परिस्थितिको मूल्याङ्कन गरेर मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ ।
घोप्टेभिर हुँदै काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रु यसअघि पनि पटकपटक पहिरोका कारण प्रभावित हुँदै आएका छन् । सडक एकतर्फी सञ्चालनमा रहे पनि पहिरोको जोखिम पूर्ण रूपमा नहटेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।

















प्रतिक्रिया