काठमाडौँ । अनमोल केसी र प्रिन्सी खतिवडा स्टारर नेपाली चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले अधिकांश हलमा दर्शकको राम्रो साथ पाउँदै बम्पर ओपनिङ गरेको हो।
भुवन केसीको निर्माण तथा निर्देशनमा बनेको चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो। चलचित्रको टिजर र सार्वजनिक तीन गीतले दर्शकको ध्यान आकर्षित गरेका थिए। चलचित्रमा अनमोल केसीको फरक लुक्ससँगै प्रिन्सी खतिवडाको सुन्दरता र अभिनयलाई पनि दर्शकले चासोका साथ हेरेका छन्।
दर्शकको उत्साह र चलचित्रप्रतिको अपेक्षालाई ध्यानमा राख्दै प्रदर्शकहरूले देशभर २६२ भन्दा बढी शो उपलब्ध गराएका छन्। प्रदर्शनको सुरुवातमै अधिकांश शो हाउसफुल भएपछि शो संख्या थपिने सम्भावना रहेको बताइएको छ।
विशेषगरी गत साता भारतीय चलचित्र ‘रामायण’ले नेपाली हलमा बलियो पकड बनाएको अवस्थामा ‘बाटुलो जून’ले त्यसलाई चुनौती दिएको छ। ठूलो बजेटको भारतीय चलचित्रसँग प्रतिस्पर्धा गर्दै नेपाली चलचित्रले शो संख्या र व्यापार दुवैमा राम्रो उपस्थिति देखाएको प्रदर्शकहरूको भनाइ छ।
निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले बिहान ११ बजेसम्म ६२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको थियो। उनले एफक्युब सिनेमामा हल भ्रमणका क्रममा चलचित्र विकास बोर्ड र निर्माताले पहुँच पाउने लाइभ बक्स अफिस डाटा देखाउँदै अनमोलको करियरकै ठूलो ओपनिङ हुने सम्भावना रहेको बताएका थिए।
यस्तै, वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बिहान ११ बजेसम्म चलचित्रले ६५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको दाबी गरेका छन्। उनका अनुसार २०० भन्दा बढी शो हाउसफुल भएका छन्। बिहान ६ बजेदेखि नै दर्शकको उत्साहजनक उपस्थिति रहेको उनले बताएका छन्।
निर्माता र वितरक दुवैले पहिलो दिनको व्यापार डेढ करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरेका छन्। यदि यो अनुमान पूरा भएमा ‘बाटुलो जून’ले नेपाली चलचित्रको बक्स अफिसमा उल्लेखनीय ओपनिङ गर्नेछ।

















प्रतिक्रिया