काठमाडौँ । दक्षिणी गाजास्थित नासिर अस्पतालको एक भवनमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार बिहीबार बिहान सबेरै अस्पतालको भवनलाई लक्षित गरी हवाई आक्रमण गरिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आकाशमा केही बेर लडाकु विमान देखिएपछि प्रहार गरिएको मिसाइल अस्पतालको शल्यक्रिया वार्ड र सघन उपचार कक्ष (आईसीयू) रहेको भवनमा खसेको थियो । आक्रमणमा ज्यान गुमाउनेमध्ये एक जना शल्यचिकित्सकसमेत रहेको बताइएको छ ।
घटनाबारे बीबीसीले इजरायली सेनासँग प्रतिक्रिया मागे पनि हालसम्म कुनै जवाफ प्राप्त भएको छैन । इजरायलले बीबीसीलाई गाजा पट्टीभित्र स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने अनुमति नदिएकाले घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालका रूपमा रहेको नासिर अस्पताल यसअघि पनि इजरायली आक्रमणको निशानामा परेको थियो । सन् २०२५ को अगस्टमा भएको दोहोरो आक्रमणमा पत्रकार तथा स्वास्थ्यकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो ।
गत वर्ष अक्टोबरमा युद्धविराम सम्झौता भए पनि गाजामा हिंसात्मक घटनाहरू रोकिएका छैनन् । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता इजरायली आक्रमणमा १ हजार ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
संयुक्त राष्ट्रसङ्घले उक्त मन्त्रालयले सार्वजनिक गर्ने मृतकसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय मान्दै आएको छ । यद्यपि इजरायल र हमासले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

















प्रतिक्रिया