नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, यस्तो छ भ्रमणको उद्देश्य


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म रुसमा आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका राजनीतिक दलका नेता, राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा विभिन्न देशका राजनीतिक प्रतिनिधिहरूबीच अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा विश्व राजनीतिका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

उक्त सम्मेलनमा प्रचण्डको सहभागितालाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपालको राजनीतिक प्रतिनिधित्वका रूपमा हेरिएको छ ।

प्रचण्डको रुस भ्रमणका क्रममा अन्य राजनीतिक भेटघाट तथा छलफलको कार्यक्रमसमेत रहने वा नरहनेबारे भने थप विवरण सार्वजनिक भएको छैन ।