भीमफेदी दुर्घटनापछि आङ्देम्बेको प्रश्न : नागरिकको ज्यान जाने क्रम कहिले रोकिन्छ?


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटनामा नागरिकको ज्यान जाने क्रम नरोकिएको भन्दै सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्न सरकारसँग माग गरेका छन् ।

मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी हाइस) दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि आङ्देम्बेले सरकारको सडक सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठाएका हुन् ।

छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रुहरूको दुर्घटनामा परी ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

आङ्देम्बेले घाइतेहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेका छन् ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको प्राविधिक अवस्था परीक्षण, निर्धारित क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिको नियन्त्रण, यात्रुको विवरण अभिलेख तथा प्रहरी निगरानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

सवारीसाधनको अवस्था, यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ ।

‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन?’ उनले प्रश्न गरेका छन् ।

उनले सडक दुर्घटनापछि छानबिन समिति गठन गर्ने तर त्यसको प्रतिवेदन सार्वजनिक नगर्ने सरकारी प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन् ।

यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नभएको भन्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका हुन् ।

‘हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन् ।

उनका अनुसार सडक दुर्घटनालाई सामान्य घटनाका रूपमा मात्र लिनु हुँदैन । दुर्घटनाका वास्तविक कारण पहिचान गरी दोषीमाथि कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन तथा प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न आवश्यक छ ।

आङ्देम्बेले सडक सुरक्षालाई सरकारको प्राथमिकतामा राख्न, दुर्घटनाको निष्पक्ष छानबिन गर्न र विगतका छानबिन प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजानसमेत माग गरेका छन् ।

उनले नागरिकको जीवन रक्षाका लागि सडक सुरक्षा प्रणालीमा सुधार गर्नु सरकारको अनिवार्य जिम्मेवारी भएको उल्लेख गरेका छन् ।