काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने मन्त्री लम्सालको चेतावनी


काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन्।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै उनले प्याकेज ९ए, ९बी र ८बी लगायतका केही निर्माण कम्पनीको कार्यसम्पादन सन्तोषजनक नरहेको बताए।

पटक–पटक चेतावनी र ताकेता गर्दा पनि प्रतिबद्धताअनुसार काम नगर्ने कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको उनको भनाइ छ।

मन्त्री लम्सालले कमजोर कार्यसम्पादन भएका ठेक्का रद्द गरी बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने पनि स्पष्ट पारे। सरकारले फास्ट ट्र्याक निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण कार्यलाई तीव्रता दिने उनको भनाइ छ।