सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
मङ्गलबार दिउँसो जनकपुरबाट काठमाडौँ जाँदै गरेको प्रदेश २–०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ।
घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ। पहिचान हुनेमा चालक दीपक कुमार दाससहित धनुषाका पाँच जना र ललितपुरको भैँसेपाटीकी प्रियाङ्का साह तथा उनका तीन छोरी रहेका छन्।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया