प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट


काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित तथा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे।

प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे चासो राखेपछि राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा तयारी गरिरहेको जानकारी गराए।

भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा पनि छलफल भएको थियो।