सभामुख अर्याल र चिनियाँ नेता याङ्गबीच भेटवार्ता


काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल र चिनियाँ जनसङ्घका अध्यक्ष याङ वानमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन सम्बन्ध र आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको हो।

भेटमा सभामुख अर्यालले दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन शिक्षा, पर्यटन, संस्कृति, कृषि, सूचना प्रविधि र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए। उनले स्थानीय तह, सांसद तथा युवा नेतृत्वबीच अनुभव आदानप्रदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।

सभामुख अर्यालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै गतिविधिमा प्रयोग हुन नदिने स्पष्ट पारे। उनले विपद्का समयमा चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति आभारसमेत व्यक्त गरे।

चिनियाँ जनसङ्घका अध्यक्ष याङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।