वैदेशिक रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्म प्रहरी नियन्त्रण


काठमाडौं । मलेसिया रोजगारीसम्बन्धी ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार यस प्रकरणमा अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ दशमलव २२ र बेलायती पाउन्ड ३७ लाख ५७ हजार ९८० दशमलव ८० गरी नेपाली रुपैयाँ १ अर्ब ६६ करोड २ लाख २४ हजार २९ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा संकलन गरिएको आरोप छ।

पक्राउ पर्नेहरूमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।

त्यस्तै, श्रम मन्त्रालयका पूर्वसचिव विनोद केसी, पूर्वसहसचिव उमेश दुंगाना र राजीव पोखरेल तथा पूर्वउपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

सीआईबीका अनुसार उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।