काठमाडौँ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको संख्या अत्यधिक बढेसँगै यात्रा व्यवस्थापन र पूर्वाधार अभावका कारण सास्ती खेप्नुपरेको भक्तजनहरुले गुनासो गरेका छन् । यात्रुहरूको चाप बढेपछि मन्दिर क्षेत्रमा होटलमा बसोबास गर्न तथा सवारीसाधन पाउन कठिनाइ हुन सक्ने भएकाले मन्दिर व्यवस्थापन समितिले अग्रिम होटल बुकिङ गर्न र यातायात व्यवसायीसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गर्दै आएको छ ।
पाथीभरा पुग्नका लागि काठमाडौँबाट सहजै ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारसम्म सडकमार्गमार्फत पुग्न सकिन्छ । तर, फुङलिङबाट माथिल्लो क्षेत्रतर्फ जाने सडकको अवस्था निकै जीर्ण र जोखिमपूर्ण रहेका कारण आफ्नो सवारी साधन छाडेर जीप भाडामा लिएर काफ्ले पाटीसम्म पुग्नुपर्ने बाध्यता रहेको तीर्थयात्रीहरूको गुनासो छ ।
यात्राका क्रममा घण्टौँसम्म बाटोमै अलपत्र पर्नुपर्ने, १४ सिट क्षमता आवश्यक पर्ने ठाउँमा सवारीसाधनको व्यवस्थापन फितलो हुने र स्थानीय स्तरमा बोलेरो जिपहरूको सिन्डिकेट कायम रहेकाले थप समस्या देखिएको उनीहरुको भनाइ छ । माथिल्लो फेदीमा बास बस्न पुग्ने प्रयाप्त होटल नपुग्दा रातको समयमा निकै सास्ती भोग्नुपरेको गुनासो तीर्थयात्रीको छ ।
पदमार्ग तथा मन्दिर क्षेत्रमा खानेपानी, सार्वजनिक शौचालय र बत्तीजस्ता आधारभूत पूर्वाधारको समेत चरम अभाव देखिएको छ। बाटो अत्यन्तै ठाडो भएकाले उकालो चढ्न र ओरालो झर्न दुवैतर्फ हिँड्न कठिन हुने र कतिपयलाई छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिने गरेको यात्रुहरूको अनुभव छ । यस्तो अवस्थामा केवलकार निर्माण भए दर्शनका लागि सहज हुने तीर्थयात्रीले जनाएका छन् ।
तीर्थयात्रीको सहजताका लागि काफ्लेपाटीदेखि मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण गर्ने प्रक्रिया अघि बढाइए पनि सांस्कृतिक तथा पर्यावरणीय विरोधका कारण निर्माण कार्य अवरुद्ध छ। करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा २०८३ वैशाखमा सरकारले निर्माण कार्य स्थगित गर्न निर्देशन दिएको थियो भने विवाद समाधानका लागि असारमा उच्चस्तरीय कार्यदलसमेत गठन गरिएको थियो। केबलकार निर्माण अघिभ बढ्न नसक्दा र वैकल्पिक पूर्वाधारमा समेत अवरोध रहँदा वृद्धवृद्धा तथा अशक्त भक्तजन मन्दिर दर्शनबाट वञ्चित हुनुपरेको भक्तजनहरुको गुनासो छ ।
स्थानीय बासिन्दा र भक्तजनहरूले विकासका नाममा हुने अवरोधहरू हटाई स्थानीय गाउँको हित, सडक स्तरोन्नति, सिन्डिकेट अन्त्य र पदमार्गमा आधारभूत सुविधा विस्तारमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

















प्रतिक्रिया