कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेकपाकै सांसदहरूले पूरक बजेट र बजेट संशोधनसम्बन्धी सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन् ।
नेकपाका आधा दर्जन सांसदले सभामुख भीम भण्डारीलाई भेटेर सदनमा भएको रुलिङ तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । बजेट पारित गर्ने क्रममा कात्तिक २० गतेभित्र कार्यदल गठन गरी प्रतिवेदनका आधारमा बजेट संशोधन गर्ने सरकारको प्रतिबद्धता थियो । तर, अहिलेसम्म कार्यदल गठन हुन सकेको छैन ।
सभामुखसँगको भेटमा सांसदहरूले पूरक बजेट ल्याउनेलगायतका आश्वासनसमेत पूरा नभएको भन्दै सरकारलाई प्रतिबद्धता कार्यान्वयन गराउन आग्रह गरेका थिए । सभामुख भण्डारीले यस विषयमा छलफल भइरहेको र सरकारसँग समन्वयसमेत गरिरहेको बताएका छन् ।
नेकपा सांसदहरूले आजै मुख्यमन्त्री खगराज भट्टलाई पनि भेटेर सरकारको निर्णय कार्यान्वयनका लागि दबाब दिने बताएका छन् । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभा बैठकसमेत अनिश्चित बनेको छ ।

















प्रतिक्रिया