एउटै मितिमा प्रदेश र स्थानीय चुनाव गर्न आयोगको आग्रह


काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको छलफलमा नेताहरूले निर्वाचनमा बदर मत घटाउन मतदान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा प्रदेश र स्थानीय तहको निर्वाचन एकै मितिमा गर्ने वा फरक–फरक मितिमा गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरूले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारको निर्वाचन खर्च घटाउन कानुनी सुधार र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय पनि छलफलमा उठेको थियो ।

निर्वाचनको मिति र प्रक्रियाबारे संवैधानिक, आर्थिक, प्राविधिक तथा राजनीतिक पक्षलाई ध्यान दिँदै राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा दलहरूको जोड रहेको खरेलले बताए ।