संविधानअनुसार वैशाखमै स्थानीय चुनाव गर्न ओलीको जोड


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरूलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिएर संविधानअनुसार आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले फागुन वा चैतमा नभई वैशाख मसान्तभित्रै निर्वाचन हुनुपर्ने एमालेको धारणा रहेको बताए ।

‘संविधानमा पाँच वर्ष भनिएको छ, पाँच वर्षमै चुनाव हुनुपर्छ,’ ओलीले भने । उनले जनप्रतिनिधिहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिए ।

ओलीले पार्टीभित्र अन्तरघात गर्ने र पार्टी नछाडे पनि भोट बदल्नेहरूलाई एमालेले अवसर नदिने चेतावनी दिए ।