क्रिकेटमय बन्यो नेपाल, उत्साहपूर्ण माहोलबीच सकियो एनपीएल सिजन–३


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सलाई नयाँ च्याम्पियन बनाउँदै सम्पन्न भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा जर्ज मन्सीले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए। उनलाई साथ दिएका विनोद भण्डारीले ३० रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। लिग चरणमा ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनी फाइनलमा भने सुदूरपश्चिमसँग निराश बन्यो।

लगातार तीन संस्करण फाइनल पुगेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै इतिहास रचेको छ। आठ टोली सहभागी प्रतियोगितामा काठमाडौँ गोर्खाज तेस्रो र चितवन राइनोज चौथो भए।