धान उत्पादनको वास्तविक विवरण लिन किसानका खलामै पुग्दै स्थानीय सरकार


पाँचथर । कृषकलाई अन्नबाली उत्पादनमा प्रोत्साहन गर्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले किसानका खलामै पुगेर धानको नापजाँच तथा उत्पादन विवरण सङ्कलन गरिरहेको छ। आर्थिक वर्ष २०७७/७८ देखि सञ्चालन हुँदै आएको कार्यक्रममार्फत बढी उत्पादन गर्ने किसानलाई नगद पुरस्कार प्रदान गरिँदै आएको छ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकको टोलीले किसानले वडा कार्यालयमा दिएको पूर्वसूचनाका आधारमा स्थलगत अनुगमन गरी उत्पादनको परिमाण यकिन गर्ने गरेको छ। यसैक्रममा मिक्लाजुङ–७ का किसान बमबहादुर बोहोराको एउटा खलामा मात्रै २५ मुरी धान उत्पादन भएको पुष्टि भएको छ। उनले यस वर्ष ७० मुरीभन्दा बढी धान भित्र्याएका छन्।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, तोकिएको मापदण्डअनुसार मकैको थाङ्ग्रो राख्नेलाई ३० हजार र ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको छ। १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई पनि २५ हजार रुपैयाँ दिइन्छ।

गत वर्ष उक्त कार्यक्रमबाट ५८६ जना किसानले कुल १ करोड ८५ लाख ६५ हजार रुपैयाँ पुरस्कार पाएका थिए। उत्पादन बढेसँगै पुरस्कार वितरणमा वार्षिक खर्च करिब दुई करोड रुपैयाँ पुग्न थालेपछि गाउँपालिकाले यस वर्ष कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ।