आज बेलुकी ५:३० बजे मोबाइलमा ‘हाई अलर्ट’ बज्ने, नआत्तिन गृह मन्त्रालयको आग्रह


काठमाडौं । विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना दिन सरकारले आज काठमाडौंका केही क्षेत्रमा मोबाइलमा ‘सेल ब्रोडकास्ट प्रणाली’को परीक्षण गर्ने भएको छ।

गृह मन्त्रालयका अनुसार आज बेलुकी ५:३० बजेदेखि नेपाल टेलिकमको २जी नेटवर्कमार्फत परीक्षण गरिनेछ। यस क्रममा केही मोबाइलमा चेतावनी ध्वनिसहित नेपाली र अंग्रेजी भाषामा परीक्षण सन्देश आउन सक्छ।

एउटै सन्देश एकभन्दा बढी पटक पनि आउन सक्ने मन्त्रालयले जनाएको छ।

मोबाइलमा ‘हाई अलर्ट’ बज्दैमा नआत्तिन र कुनै प्रतिक्रिया जनाउन आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। यो विपद्को वास्तविक सूचना नभई प्राविधिक परीक्षण मात्र हो।

यस प्रणालीबाट भविष्यमा बाढी, पहिरो, भूकम्पलगायत विपद्को जोखिम रहेका क्षेत्रमा नागरिकलाई तत्काल सूचना र सुरक्षा निर्देशन पठाउन सकिनेछ।