काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। सभापति गगन थापाको नेतृत्वमा बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठनात्मक गतिविधि र आगामी कार्ययोजनाबारे छलफल हुने भएको छ।
बैठकमा विशेषगरी केन्द्रीय सदस्यहरूले शपथ ग्रहणका क्रममा पेस गरेको ‘कार्यक्षेत्र र योजना’सम्बन्धी फारममाथि छलफल हुनेछ। कुन केन्द्रीय सदस्यले कुन विभाग वा विषयगत क्षेत्रमा रहेर काम गर्न चाहेका छन् र उनीहरूले कस्ता योजना अघि सारेका छन् भन्ने विषयमा समीक्षा गरी जिम्मेवारी बाँडफाँटको प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
त्यस्तै, मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘हामी तयार छौं’ अभियानको प्रभावकारिताबारे पनि बैठकमा समीक्षा हुनेछ। अभियानले पार्टीको तल्लो तहसम्म कस्तो प्रभाव पारेको छ, संगठन परिचालनमा देखिएका चुनौती के–के छन् र अभियानलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसको विधानअनुसार सभापति गगन थापाले चार सहमहामन्त्रीसहित ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ। तर, उनले अहिलेसम्म उक्त मनोनयन प्रक्रिया पूरा गरेका छैनन्। त्यसैले आजको बैठकमा मनोनयन तथा पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने विषयले पनि चासो पाउने देखिएको छ।
नयाँ नेतृत्व चयनपछिको यो बैठकलाई कांग्रेसको आगामी संगठनात्मक दिशा, कार्यशैली र राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले लिने धारणा र आगामी योजनाबारे पनि बैठकले दिशा तय गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया