काठमाडौँ । बाजुरामा शुक्रबार राति भएको भीषण ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर जगन्नाथ गाउँपालिका–३ स्थित दाउणामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
दुर्घटनामा सोही ठाउँका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र ट्र्याक्टर चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका छन् । उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अछामको रामारोशन गाउँपालिका–४ का नवीन बोहराले चलाएको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया