Logo

फिफा विश्वकपमा यी ७ खेलाडीको खेल हेर्न आतुर छन् दर्शक !

फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५) सम्म रुसमा हुनलागेको छ ।

३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् । त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् ।

अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यसै संधर्वमा रुस विश्वकप आउन अब केवल १३ दिन बाँकी छ। यस्तोमा कुन टोलीको यो कप हासिल गर्छ भन्ने विषयमा चर्चा सुरु भइसकेको छ। यसैबीच दाबेदार टोलीको विषयमा पनि बहस चलिरहेको छ। यस्तोमा दाबेदार टोलीमध्येका केही यस्ता खेलाडीहरु छन्, जसले यो विश्वकपमा महत्वपूर्ण भूमिका निभाउन सक्छन् र उनीहरु पछिल्लो केही समययता लगातार चर्चाको शिखरमा पनि रहेका छन्।

१. क्रिस्टियानो रोनाल्डो, पोर्चुगल क्रिस्टियानो रोनाल्डो पछिल्लो समय निकै फर्ममा रहेका खेलाडी हुन्। उनले फुटबलमा जित्न सकिने सबैजसो उपाधिहरु हात पारिसकेका छन्। सन् २०१६ मा पोर्चुगलले युरोकपको उपाधि जित्दा पनि रोनाल्डो नायक बनेका थिए। अघिल्लो विश्वकपमा समुहचरणबाटै बाहिरिएको टोलीमा यसपटक रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। चारपटकको बेलन डी’ओरको उपाधि जितिसकेका खेलाडीको भूमिका यसपटक पनि उनको टोलीमा महत्वपूर्ण हुनेछ। विश्वकपको हिसाबमा भने रोनाल्डोले अहिलेसम्म केवल चार गोलमात्रै गरेका छन्। उनले अहिलेसम्म पोर्चुगलका लागि एक सय ४९ खेलमा ८१ गोल गरिसकेका छन्।

 २. लियोनेल मेस्सी, अर्जेन्टिना लियोनेल मेस्सी विश्व फुटबलमा निकै चर्चित नाम हो। बार्सिलोनाको लागि महत्वपूर्ण उपाधिहरु जिताइसकेका मेस्सीले आफ्नो राष्टिय टोलीका लागि भने महत्वपूर्ण उपाधिहरु जिताउन सकेका छैनन्। उनको फुटबल करियरमा गरिएको प्रदर्शनको आधारमा पनि यसपटकको विश्वकपमा उनले राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ। मेस्सीले अर्जेन्टिनाको लागि अहिलेसम्म ६१ गोल गरेका छन्। साथै उनको लागि यो अन्तिम विश्वकप पनि हुनसक्ने भएकोले यो पटकको विश्वकपमा उनीबाट अर्जेन्टिनाको टोलीले धेरै आशा राखेको छ। उनले अहिलेसम्मको विश्वकपमा छ गोल गरिसकेका छन्। उनकै योगदानमा सन् २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट भने वञ्चित रहनपुग्यो।

३. नेयमार, ब्राजिल ब्राजिलियन स्ट्राइकर नेयमारको भूमिका यसपटकको विश्वकपमा महत्वपूर्ण हुनेछ। यसअघि घरमा भएको विश्वकपमा पनि राम्रो प्रदर्शन गर्दागर्दै चोटको सामना गरेका नेयमार यसपटक धेरैको आँखामा पर्ने खेलाडी हुन्।

यो सिजनमा बार्सिलोनाबाट पीएसजीमा गएका यी खेलाडी ब्राजिलको लागि सबैभन्दा महत्वपूर्ण हतियार हुन्। यसपटकको विश्वकप छनोट खेलमा पनि ब्राजिलले १० अंकको फरकको नतिजा हासिल गरेको थियो। जसको कारण यसपटकको विश्वकपमा उसको प्रदर्शन निकै राम्रो रहने अनुमान गरिएको छ। ब्राजिलबाट खेलेका ८० खेलमा नेयरमारले ५० गोल गरिसकेका छन्। जसको कारण पनि ब्राजिलको टोलीमा यी खेलाडी निकै महत्वपूर्ण हुनसक्छन्। नेयमारले अहिलेसम्म सन् २०१४ को एकमात्र विश्वकप खेलेका छन् र उनले यो विश्वकपमा पाँच गोल गरेका थिए।

४. लुइस स्वारेज, उरुग्वे लुइस स्वारेज उरुग्वेको लागि महत्वपूर्ण हतियार हुन्। उनकै प्रदर्शनीको आधारमा उरुग्वेले पछिल्लो केही वर्षयता फुटबलको इतिहासमा सुखद नतिजा निकाल्दै आएको छ। सन् २०१० को विश्वकपको सेमिफाइनलमा पुगेको टोलीले सन् २०११को कोपा अमेरिका कप जितेको थियो।

३० वर्षे यी खेलाडीले उरुग्वेको लागि खेलेको ९७ खेलमा ५० गोल गरेका छन्। साथै उनी महत्वपूर्ण प्रतियोगितामा निर्णायक भूमिकामा देखिने गरेका छन्। उनले क्लब फुटबलमा पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले अहिलेसम्म विश्वकप प्रतियोगितामा पाँच गोल गरेका छन्।

५. थोमस मुलर, जर्मनी जर्मनीका थोमस मुलर पनि यसपटकको विश्वकपको लागि एक चर्चित खेलाडी हुन्। विश्वकपमा उनले जर्मनीको लागि निकै महत्वपूर्ण प्रदर्शन पनि गर्दै आएका छन्। २८ वर्षीय मुलरले अहिलेसम्म जम्मा दुई विश्वकप खेलेका छन् तर उनले अहिलेसम्म १० गोल गरिसकेका छन्। जर्मनीका यी खेलाडीले विश्वकपको महत्वपूर्ण उपाधिहरु पनि पाइसकेका छन्। उनको प्रदर्शन महत्वपूर्ण रहँदै आएकोले यिनले विश्वकपमा नयाँ कीर्तिमान राख्नसक्ने केही विश्लेषकहरुको बुझाइ छ। त्यसको लागि उनको यो विश्वकप कस्तो रहनेछ भन्ने कुरा महत्वपूर्ण हुनसक्छ।

६. आन्द्रेस इनिस्टा स्पेनका आन्द्रेस इनिस्टा पनि यसपटकको विश्वकपमा महत्वपूर्ण खेलाडी बन्न सक्छन्। क्लब फुटबलबाट सन्यास लिइसकेका यी खेलाडीको लागि यो विश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो। जसको कारण उनलाई यो प्रतियोगिता महत्वपूर्ण बनाउने अवसर पनि रहेको छ। तीनपटक विश्वकप खेलेका यी खेलाडीले यो प्रतियोगितामा दुई गोल गरेका छन्। साथै स्पेनको लागि खेलेको एक सय २५ खेलमा उनले १३ गोलको योगदान गरेका छन्। मिडफिल्डको लागि इनिस्टा टोलीको महत्वपूर्ण हतियार मानिन्छन्।

७. कायलिन एम्बाप्पे फ्रान्सको लागि यो विश्वकपमा सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्–कायलिन एम्बाप्पे। च्याम्पियन्स लिगमा १८ वर्षे यी खेलाडीले छ गोल गरेका थिए। उनकै सहयोगमा मोनाको सन् २००४ पछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो। यी खेलाडीमा खेल जिताउने मात्र नभई खेललाई खराब समयमा पनि बचाउनसक्ने क्षमता छ। उनको गति र ड्रिबलिङको क्षमताको कारण रसिया विश्वकपमा उनी निकै महत्वपूर्ण खेलाडी साबित हुनसक्छन्। सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका खेलाडीले फ्रान्सको लागि खेलेको १३ खेलमा तीन गोल गरेका छन्। उनले यसअघि फ्रान्सको यू–१९ टोलीबाट खेल्दा ११ खेलमा सात गोल गरेका थिए।

(यसपटकको विश्वकपमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह पनि निकै महत्वपूर्ण खेलाडी बन्नसक्छन्। यद्यपि च्याम्पियन्स लिगको फाइनल खेलमा घाइते भएको कारण अझै पनि उनले विश्वकप खेल्ने निश्चित भइसकेको छैन।)

प्रतिक्रिया दिनुहोस्