Logo

मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने समस्या हुनेहरुले एकचोटी पढ्नुहोला ? अरुलाई पनि उपयोगी हुन सक्छ शेयर गर्नुहोला

मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ । अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ

अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो । तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ । त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।

कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर अधिकांशको पहिलो ३÷४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं । आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं ।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो/ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ ।

लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ । तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

(ग्यास्टोइन्ट्रोलोजिष्ट गुर्वाचार्य पुल्चोकको निदान अस्पतालमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्