Logo

विश्वकप प्रिभ्यु : उरुग्वेविरुद्ध इजिप्ट, फर्केलान् त शालाह ?

काठमाडौ – दुईपटकको विश्व विजेता उरुग्वे र इजिप्टबीच आज यकाटेरिनवर्गस्थित ३५ हजार सिट क्षमताको रंगशालामा प्रतिस्पर्धा हुँदैछ । खेलअघि नै मोहमद शालाहको फिटनेशलाई लिएर धेरैमा कौतुहलता छ ।

च्याम्पियन्स लिग फुटबलको फाइनलमा रियल म्याड्रिडका सर्जियो रामोशले खराब ट्याकल गरेपछि लिभरपुलका शालाह घाइते भएका थिए । सोचिएको थियो, उनको विश्वकप सपना सकियो । तर, इजिप्टले उनलाई चोटग्रस्त अवस्थामै टोलीमा राख्यो र अहिले फिट भइसकेका कारण पहिलो खेलबाटै मैदान उत्रने बताइएको छ । बुधबारबाट शालाहले टोलीसँगै अभ्यास थालेका छन् । त्यसैले पनि प्रशिक्षक हेक्टर कुपर निकै उत्साहित देखिएका छन् ।

उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा शालाहले उरुग्वे विरुद्धको म्याच खेल्ने बताएका हुन् । २८ वर्षपछि इजिप्टलाई विश्वकपमा छनोट गराउन शालाहले महत्वपूर्ण प्रदर्शन गरेका छन् । त्यसैले इजिप्टको टोली उनीमाथि निर्भर छ ।

कुनै कारणवस शालाहले नखेले उनको सट्टामा रामादन सोबीले अग्रपंक्तिबाट खेल्नेछन् । इजिप्टका गोलकिपर इसाम इल हादारीले यस खेलमार्फत नयाँ रेकर्ड पनि बनाउनेछन् । ४५ वर्षका हादारी विश्वकप खेल्ने बढी उमेरका खेलाडी हुनेछन् ।

उरुग्वेसँग अग्रपंक्तिमा लुइस सुवारेज र इडिसन काभानीजस्ता विश्वस्तरीय खेलाडी छन् । पछिल्लो समय लुकास टेर्रिरा पनि फर्ममा देखिएका छन् । सन्तुलित टोली भएकाले उरुग्वेलाई यसपटक प्रतियोगिताको डार्क हर्स मानिएको छ । अर्थात, उरुग्वेले विश्वकपमा जहाँसम्मकै यात्रा गरेपनि अचम्मा मान्नुपर्ने अवस्था छैन ।

पीएसजीबाट खेल्ने काभानीले यसपटक उरुग्वेलाई विश्वकपमा छनोट गराउने क्रममा सर्वाधिक १० गोल गरेका छन् । सुवारेजले अहिलेसम्म विश्वकपमा ५ गोल गरेका छन् ।

सन् २०१० को विश्वकपमा ३ गोल र सन् २०१४ को विश्वकपमा इङल्यान्ड विरुद्ध निर्णायक दुई गोल । इजिप्टसँग अहिलेसम्म भएको एकमात्रै भीडन्तमा उरुग्वे विजयी भएको छ । सन् २००६ मा भएको उक्त खेलमा उरुग्वे २–० ले विजयी भएको थियो ।

केही तथ्य 

अहिलेसम्म उरुग्वेले विश्वकपमा तीनपटक अफ्रिकी राष्ट्रसँग प्रतिस्पर्धा गरेको छ । तर, हार व्यहोर्नुपरेको छैन ।

सन् १९९०, जुन २१ मा विश्वकपको समूह चरणको अन्तिम खेल खेलपछि फेरि प्रतियोगिता सहभागी हुन इजिप्टले २८ वर्ष कुर्नुप¥यो । समुह चरणको उक्त खेलमा इङल्यान्डले इजिप्टलाई १–० ले हराएको थियो ।
उरुग्वेका प्रशिक्षक ओस्कार टावरेज ७१ वर्षको भइसकेका छन् । तर अहिले पनि उनी उस्तै उत्कृष्ट मानिन्छन् । खेल चलिरहँदा रणनीति परिवर्तन गरेर खेललाई नयाँ दिशा दिने मामिलामा उनी छिटो निर्णय लिनसक्छन् । उनले चौथो पटक विश्वकपमा प्रशिक्षण दिन लागेका हुन् । सन् १९९०, २०१० र २०१४ मा पनि उरुग्वेले उनकै प्रशिक्षणमा खेलेको थियो । विश्वकपमा खेलाएका १५ खेलमध्ये उनले उरुग्वेलाई ६ खेल जिताएका छन् । त्यस्तै ३ खेल बराबरीमा सकिएको छ भने ६ खेलमा उरुग्वे पराजित भएको छ ।

प्लेयर टु वाच 

मोहमद शालाह, इजिप्ट

महोमद शालाहलाई हेर्न उनका लाखौँ फ्यान आतुर छन् । सन् २०११ देखि इजिप्टबाट ५७ खेल खेलेका शालाहले ३३ गोल गरिसकेका छिन् । गत सिजन लिभरपुलबाट प्रिमियर लिग तथा च्याम्पियन्स लिगमा शालाहले गरेको प्रदर्शनले उनलाई गोल मेसिनको रुपमा स्थापित गराएको छ । भर्सटायल फरवार्ड शालाह गोलमात्रै होइन, उत्तिकै सुन्दर एसिस्ट पनि गर्छन् । २६ वर्षका यी फरवार्डले विश्वकप छनोटमा इजिप्टका लागि सर्वाधिक ५ गोल गरेका थिए ।

लुइस सुवारेज, उरुग्वे

जब विश्वकप आउँछ । तब लुईस सुवारेज पनि चर्चामा आउँछन् । यी खेलाडीले सन् २०१० को विश्वकपमा उरुग्वेलाई चौथो बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । घाना विरुद्धको खेलमा हातले बल क्लियर गरेपछि उनी विवादमा पनि आए । गत संस्करणमा पहिलो खेलमै कोस्टारिकासँग पराजित भएपछि उरुग्वेले समुह चरण पार गर्नेमा शंका गरिएको थियो ।

तर, दोस्रो खेलमा इङ्ल्यान्डविरुद्ध निर्णायक दुई गोल गर्दै सुवारेजले उरुग्वेलाई बलियो अवस्थामा पु¥याए । इङल्यान्डपछि इटलीलाई घरको बाटो देखाएर उरुग्वेले दोस्रो चरणमा पुगेको थियो । तर, इटलीविरुद्धको खेलमा जर्जियो चिल्लीनीलाई टोकेका कारण सुवारेज प्रतिबन्धमा परे । उनको अनुपस्थितिमा उरुग्वे कहीँकतैबाट पनि स्तरीय देखिएन । कोलम्बियासँग पराजित भएर टोली अन्तिम १६ बाटै घर फर्कियो । उरुग्वेलाई जित दिलाउन सुवारेजको उत्कृष्ट प्रदर्शन त आवश्यक छ नै । उनले संयमित भएर खेल्न पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्