Logo

विश्व विजेता ब्राजिलको खेल आज : नेमारमा धेरैको नजर, कस्तो होला प्रदर्शन ?

मस्को : विश्व विजेता ब्राजिलले रुस विश्वकप अन्तर्गत आइतबार मध्यरातमा खेल्दै छ । विश्वभरको आँखा अर्जेन्टिनापछि ब्राजिलतर्फ मोडिएको छ । अर्जेन्टिनाले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि धेरैले ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरेका छन् ।

ब्राजिलले रुस विश्वकपअन्तर्गत आइतबार रोस्तोभ एरेना रंगशालामा नेपाली समयअनुसार आइतबार राति ११ :४५ बजे स्विट्जरल्यान्डविरुद्ध पहिलो खेल खेल्दै छ । ब्राजिल पाँच पटकको विश्वकप विजेता हो । त्यसैले उसलाई विश्वविजेता भनिन्छ । यसरी ब्राजिलले पाँच पटक उपाधि उचाल्दा विस्ट्जरल्याण्ड भने क्वार्टरफाइनलभन्दा माथि जान नसकेको देश हो ।

ब्राजिलको खेलमा अहिले पनि फुटबलका फ्यान चमत्कार मात्र खोज्छन् । ब्राजिल विश्वकै उत्कृष्ट क्लबमा खेल्ने खेलाडीले भरिएको टिम हो । ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट रुस विश्वकपका लागि छनोट पक्का गर्ने पहिलो टोली समेत हो । उसले दक्षिण अमेरिकी छनोटको १८ मध्ये कुनै पनि खेलमा हारको स्वाद पाएन । सँगै रुस विश्वकपका ६ अभ्यास खेलमा पाँचमा जित निकालेको ब्राजिल उपाधि उचाल्ने ध्यानका साथ पहिलो खेलमा सहभागी हुने छ ।

ब्राजिल शक्तिशाली हुँदाहुँदै पनि स्विट्जरल्यान्डलाई मने कमजोर भन्न मिल्दैन । उसको टिममा युरोपेली राम लिगका खेलाडी छन् । त्यसैले ब्राजिल शक्तिशाली छ भनेर स्विट्जरल्यान्डलाई कमजोर मान्नु घातक हुनसक्छ । विश्वकप फुटबलमा यी दुई देशको नतिजालाई हेर्दा प्रतिस्पर्धात्मक टोली हुन भन्ने लाग्छ ।

विश्वकप फुटबलमा यी दुई देशबीच सन् १९५० मा भेट भएको थियो । उक्त भेटमा २–२ को बराबरीमा खेल टुंगिएको थियो । त्यसपछिका सात मैत्रीपूर्ण खेलमा भने ब्राजिलले तीनमा जित निकालेको छ भने दुई पराजय भोगेको छ ।

विश्व विजेता ब्राजिलले सन् २०१४ मा आफ्नै मैदानमा इतिहासकै लज्जास्पद हारको सामना गर्यो । सेमिफाइनमा ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भएको हो । जर्मनीसँग नमिठो हार खाएको ब्राजिलले तेस्रो स्थानका लागि नेदरल्यान्डसँग भएको खेलमा समेत ३–० को हार भोग्यो । त्यसपछि भने ब्राजिलले आफ्नो देशको खेलका लागि चार बर्षमा ठूलो मिहिनत गरिसकेको छ।
अर्जेन्टिनाका मेसी जस्तै ब्राजिलका नेमार शक्तिशाली फरवार्ड हुन् । नेइमार प्राविधिक रुपमा छरिता फुटबलर मानिन्छन् । पेले, रोनाल्डो, रोनाल्डिन्होपछि ब्राजिलको फुटबलमा उनकै नाम आउनेगर्छ । २६ वर्षीय नेमार छोटो अवधिमा विश्व फुटबलमा सनसनी मच्चाएका खेलाडी हुन् ।

उनको खेल कौसलकै कारण बार्सिलोनाबाट उनी विश्वकिर्तिमानी रकमा पिएसजीमा आवद्ध भएका छन् । पिएसजी गएसँगै उनी विश्वका महंगा मध्ये एक खेलाडी बनेका छन् । सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको विश्वकपको क्वार्टरफाइनलमा नेमार चोटग्रस्त बनेपछि ब्राजिल कमजोर बन्यो । उसको खेल जर्मनी र नेदरल्याण्डले क्रमस सेमिफाइनल र तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रोकिदिए । नेइमार यो पटक विश्वकप उचाल्ने ध्यानमा छन् । सन् २०१० बाट विश्वकपमा डेब्यु गरेका नेइमारले योसँगै तेस्रो पटक विश्वकप खेल्दैछन्।

प्रतिक्रिया दिनुहोस्