Logo

अर्जेन्टिनाको जितमा ढलेका म्याराडोना भन्छन् : म ठिक छु

नाइजेरियाविरुद्ध अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेपछि ढलेका अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाले आफू ठिक भएको बताएका छन् ।

नाइजेरिया र अर्जेन्टिनाबीचको खेलमा ८६ औँ मिनेटसम्म एक–एकको बराबरी चलेको थियो । तर खेलको ८६ औँ मिनेटमा मार्कस रोहोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अन्त्यमा त्यही गोल नै निर्णायक गोल भयो ।  त्यही गोलले अर्जेन्टिनालाई नकआउट चरणमा पुर्‍यायाे।

तर अर्जेन्टिनाको दोस्रो गोलमा अर्जेन्टिनाका समर्थक खुसीले पागल नै भएका थिए । त्यसै क्रममा अर्जेन्टिनी लिजेण्ड म्याराडोना जुरुक्कै उठेर खुसी मनाइरहेका थिए । तर उनले आफूलाई सम्हाल्न सकेनन् ।  उनी खुसी मनाउँदा मनाउँदै लड्खडाएका थिए । त्यसो त उनी नाइजेरियाले बराबरी गोल गरेपछि म्याराडोनाको आँखामा आँसु देखिन्थ्यो ।

तर रोहोको गोलको खुसीमा  उनी सम्हालिन सकेनन् । तुरुन्तै उनलाई प्यारामेडिकल टिमले जाँच गरेको थियो । उनलाई सेन्ट पिटर्सबर्गबाट उपचारका लागि मस्को लगिएको बीबीसीले जनाएको छ । म्याराडोनाले इन्स्टाग्राममा मेडिकल स्टाफसँगको फोटो पोस्ट गर्दै आफू ठिक भएको बताएका छन् । आफूलाई खेल हेर्ने क्रममा घाँटी दुखेकाले गाह्रो भएको पनि उनले स्पष्ट पारेका छन् ।

 

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेलेका छन् । उनले अर्जेन्टिनाका लागि ३४ गोल गरेका छन् । सन् १९८६ मा  उनले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले सन् १९८२, १९८६ र १९९४ को विश्वकपमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्