कक्षा १२ मा पढ्दै गर्दा कैलालीकी जुना शाही आँप टिप्न रूख चढेको बेला लडेर घाइते भइन्। मेरुदण्ड नै भाँचिएपछि उनको कम्मरभन्दा तलको भाग कहिल्यै नचल्ने भयो। अपाङ्गता भएपछि पहिलो तीन वर्ष त उनले ह्वीलचेयर पनि पाइनन्।
पछि काठमाण्डूबाट गएको टोलीले उनलाई ह्वीलचेयर दिएपछि पनि उनी अर्को सात वर्ष अरूकै सहारामा बाँचिन्। त्यो बेला उनले शारीरिक मात्र हैन मानसिक पीडा पनि खेप्नुपर्यो। “रूखबाट खसेर मरेको भए पनि त यस्तो दिन देख्नुपर्दैन थियो किन बाँचे हुँला भन्ने लागिरहन्थ्यो,” शाहीले बीबीसीसँग भनिन्।
काठमाण्डूस्थित अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाउने बीआइए फाउन्डेशनमा आएपछि उनले थाङ्का चित्र बनाउन सिकिन्।
तर उनलाई सुरुसुरुमा निकै पट्यार लाग्यो।
थाङ्काले आत्मनिर्भर
“एकमन एकचित्त भएर लाग्नुपर्ने यो काम सुरुमा त एकदमै दिक्क लाग्थ्यो,” शाहीले भनिन्, “सिक्दै गएपछि अहिले त कहिले बनाइसकौँ र आफूले बनाएको हेरौँ भन्ने लाग्छ।”
सुरुमा पाँच वर्ष थाङ्का मात्रै बनाउने गरेकी उनी अहिले आफूजस्तै दुर्घटनाका कारण अपाङ्गता भएका व्यक्तलाई चित्र बनाउन सिकाउँछिन्।
उनले बनाएको थाङ्का अहिले विदेशमा पनि बिक्री हुन थालेको छ। त्यसैबाट आफू आत्मनिर्भर हुन सकिएको उनी बताउँछिन्।
“म कस्तो अँध्यारो विगतबाट अहिले उज्यालोमा आएँ जस्तो लाग्छ। अहिले आफैँले बनाएको थाङ्का हेरिरहौँ जस्तो लाग्छ। म आफूले बनाएको थाङ्का जति हेरे पनि थाक्दिनँ।” हेर्नुहोस् सुष्लेमा कार्कीले बनाएको यो भिडियो अन्तर्वार्ता ….
प्रतिक्रिया