मुगु — कर्णाली प्रदेशको जिल्ला मुगु । स्वास्थ्य सेवा र सुविधाको हिसाबले पुछारमा रहेको क्षेत्र । छायाँनाथ रारा नगरपालिका १० को जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकका चार सन्तान घरमा छन्। गर्भवती धनरुपा पाँचौंपटक आमा बन्दै थिइन्।
पत्नीको निधनपछि सात दिनकी छोरीका साथ रामबहादुर विक । बुधबार बिहानैदेखि हिउँ परिरहेको थियो। ससाना बच्चाहरू चिसोमा जेनतेन घरभित्र बसिरहेका थिए। पत्नीलाई सुत्केरी व्यथा लागेदेखि नै पति रामबहादुर विक तनावमा थिए।
व्यथाले च्यापिरहे पनि बच्चा जन्मिन सकिरहेको थिएन। धेरै समय भएपछि गाउँमा हल्ला भयो। छिमेकी र दाजुभाइ जम्मा भए। आधा घण्टा दूरीको झाकोट गाउँमा हालै खुलेको ‘बर्थिङ सेन्टर’मा लैजाने कि दुई घन्टा टाढा सदरमुकामको जिल्ला अस्पताल लैजाने भन्नेमा छलफल भयो। अन्तिम निश्कर्ष निस्कियो- बर्थिङ सेन्टर के हो, के हो? जिल्ला अस्पताल ठिनी नै लैजाउँ! अरु कुनै समस्या भयो भने पनि उपचार हुन्छ।
हिमपातका कारण मोबाइलमा नेटवर्क बिग्रिएको थियो । त्यसैले सदरमुकामबाट एम्बुलेन्स बोलाउनेसम्भावना रहेन। स्ट्रेचरमा राखेर उनलाई अस्पतालतिर दौडाइयो। बाटैमा उनले आफ्नो पाँचौंसन्ताका रूपमा छोरीलाई जन्म दिइन्।
छोरी जन्मिए पनि आमाको रक्तश्राव रोकिएको थिएन। थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा आमा धनरुपाको मृत्यु भयो।
आमाको मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको छ। ‘आमा बितेको सात दिनदेखि नै छोरी रोएको रोयै छ, बचाउनै मुश्किल परिरहेको छ,’ रामबहादुरले भने, ‘श्रीमती बितेपछि अरु बच्चाको समेत स्याहार गर्न गाह्रो भएको छ ।’
सबभन्दा ठूलो समस्या नवजातलाई दूध खुवाउन भएको उनी बताउँछन्। ‘आक्कलझुक्कल छिमेकका महिलाले दूध खुवाइदिने गरेका छन्। तर, त्यतिले पुग्दैन। भोको भएकाले रातभर रोइरहन्छे,’ रामबहादुरले भने। एकातिर धेरै बालबच्चा, अर्कातिर मृतक श्रीमतीको काजकिरियाको कामले गर्दा रामबहादुरको बिजोग र बच्चीको बिचल्ली भएको उनका आफन्त रामसिंह विकले बताए।
जन्मेदेखि आमाको दूध खान नपाएका कारण शिशुको शरीर सुक्दै गएको पनि रामसिंहले बताए। ‘गाउँमा गाईभैंसीको दूध पाइँदैन। मुश्किलले पाइए पनि शिशुलाई खुवाउन सकिएको छैन,’ उनले भने।
प्रतिक्रिया