Logo

एसपी गंगा पन्तको पर्सामा सरुवा, भीम रावलले पाए थप जिम्मेवारी !

भीम रावललाई थप जिम्मेवारी

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् ।
यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । रावल नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन् ।

नयाँ सदस्यहरु थपिएलगत्तै सोमबार बसेको विभागको बैठकले महाधिवेशन लक्षित कार्ययोजना तयार गरेको छ । महाधिवेशनको मिति तय भैसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

‘महाधिवेशनको मिति तोकिसकेको अवस्थामा जटिल काम बनेको सदस्यता व्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ । त्यसलाई व्यवस्थित गर्ने दिशामा अघि बढ्ने निर्णय भएको छ’ शाक्यको भनाइ छ ।

पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिएपनि पूर्णता भने अझै भएको छैन । नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ ।
नेकपाको यो विभागका प्रमुख वामदेव गौतम हुन् । आइतबार बसेको सचिवालय बैठकमा विभाग प्रमुख गौतमले सिफारिस गरेका नामहरुलाई अनुमोदन गरेको हो ।

तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्