Logo

कलंकीको अण्डररोडमा टिपरले मोटरसाइकललाइ ठक्कर दिँदा २ को मृत्यु

बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्।

टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका थिए।

उपचारका लागि उनीहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारको क्रममा राति पौने २ बजे उनीहरूको मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने टिपरको प्रहरीले खोजी गरिरहेको छ।

‘अँध्यारो हुने भएकाले राति अन्डरपासमा भएको सिसी क्यामेराले गाडीको नम्बर देख्न सकिन्न। क्यामेरामा हेर्दा टिपर र मोटरसाइकल ठोकिएका देखिन्छन् तर टिपरको नम्बर खुल्दैन,’ निरीक्षक कार्कीले भने,‘हामी भागेको टिपर खोज्दैछौं।’

प्रतिक्रिया दिनुहोस्