Logo

ओलीले ठट्यौली शैलीमा चिकित्सकहरुसँग भने, ‘मेरा बा अहिले ९० वर्ष पुग्नुभयो, म पनि त्यति त बाँच्छु नि!

बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली उठेर बस्न थालेका छन्। बिहीबार बिहानदेखि झोल पदार्थ खान थालेका प्रधानमन्त्री ओली शुक्रबार बिहानदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उठेर बस्न थालेका हुन्। बुधबार अप्रेशन कक्षबाट पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका प्रधानमन्त्री उठेर बस्न थालेपछि आजेदेखि फिजियोथेरापी पनि गराउन थालिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्। ‘उहाँ (प्रधानमन्त्री) आईसियु कक्षको बेडबाट उठेर बस्न थाल्नु भएको छ’,

ओलीका एकजना निजी चिकित्सकले भने, ‘स्वास्थ्यमा धेरै राम्रो सुधार भएकाले अब कालोचियासँगै दालसहितका झोलिला पदार्थ पनि बिस्तारै खान दिँदैछौं।’ प्रधानमन्त्रीलाई यसअघि पटक पटक छातीको संक्रमणले सताएको थियो। यो पटक उक्त संक्रमण दोहोरिन नदिन चिकित्सकले विशेष सजगता अपनाएका छन्। सीमित चिकित्सक मात्रै ओलीको नजिकमा छन्। अहिलेसम्म बाहिरका आगन्तुकलाई चिकित्सकले भेट्न दिएका छैनन्। ओलीलाई मिर्गौला दान गरेकी ३२ वर्षीया भाञ्‍जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार भएसँगै उनलाई केही दिनमै डिस्चार्ज दिने तयारी चिकित्सकहरुले गरेका छन्।

आईसियुको बेडबाट उठेर बस्न थालेसँगै ओलीले चिकित्सकहरुसँग हाँसो ठट्टा गर्न थालेका छन्। आफ्ना निजी चिकित्सकहरु डा. अरुण सायमी, डा. दिलीप शर्मा र डा. दिव्या सिंह शाहसँग ओली खुलेर ठट्टा गरिरहन्छन्। गम्भीर स्वास्थ्य समस्या हुँदा पनि ओलीको ठट्टा गरिरहने पुरानै स्वभाव छ। यो पटक पनि बिहीबार बिहानै आफ्नो अवस्था बुझ्न आईसियुमा छिरेका चिकित्सकहरुसँग ६८ वर्षीय ओलीले ठट्टा गर्न भ्याए। बेडबाट उठेर बस्न थालेपछि ओलीले अवस्था बुझ्न आएका चिकित्सकहरुलाई अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे।

उनले अझै १५/२० वर्ष आफूलाई केही नहुने भनेपछि चिकित्सकहरु पनि मुस्काएका थिए। उनले चिकित्सकहरुसँगको ठट्टाका क्रममा आफ्न बुवा मोहनप्रसाद ओलीलाई सम्झिएका थिए। ‘मिर्गौलाले काम गर्न थालिगयो, अब मलाई अझै १५/२० वर्ष केही हुँदैन’, ओलीले ठट्यौली शैलीमा चिकित्सकहरुसँग भने, ‘मेरा बा अहिले ९० वर्ष पुग्नुभयो, म पनि त्यति त बाँच्छु नि!’

प्रतिक्रिया दिनुहोस्