रुपनीमा हात्तीको आक्रमणबाट ५३ वर्षीय सुवबहादुरको मृ त्यु, गाउँमा त्रास


सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

आज दिउँसो १ बजे बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए।

हात्तीको आक्रमणबाट बच्न उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। हात्तीको बथान बस्तीमै पस्न थालेपछि स्थानीयको जनजीवनसमेत प्रभावित भएको छ।

यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो।