Logo

कोरोनाभाइरस: इटलीका सबै क्षेत्रमा सङ्क्रमण, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।

सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।

सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्।

आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।

कोरोनाभाइरसको त्रासबीच विश्वका प्रमुख बजारमा हलचल
विश्व शेअर बजार सन् २००८ को आर्थिक मन्दी यता सबैभन्दा खराब
इटलीका २० वटै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

प्रधानमन्त्रीले के भने?
प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए।

आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, “अब हामीसँग धेरै समय छैन।”

प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढिरहेको बताउँदै उनले भने, “हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।”

अँध्यारो क्षण
तस्वीर कपीराइटGETTY IMAGES
त्यसैले आफूले आफ्ना सबै नागरिकको स्वास्थ्यको सुरक्षा गर्न थप कडा कदम चालेको उनको भनाइ थियो।

इटलीको जेलमा दङ्गा फैलिँदा कम्तीमा ६ जनाको मृत्यु
इटलीमा यात्रा प्रतिबन्धका बीच पनि मृतकको सङ्ख्यामा ठूलो वृद्धि
प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए। विद्यालय र विश्वविद्यालयहरू एप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्।

यसअघि एउटा समाचारपत्रलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कोन्टेले भनेका थिए, “मैले विन्स्टन चर्चिलको पुरानो भनाइ सम्झिरहेको छु: यो हाम्रो सबैभन्दा अँध्यारो क्षण हो तर हामी सफल हुनेछौँ।”

सरकारी प्रतिबन्धलाई प्रधानमन्त्रीले ‘म घरभित्रै बस्छु’ भन्ने अभियानको रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्