दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको मृत्यु भएको समाचार छापेका छन्। दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र फेब्रुअरीमा झन्डै ३ हजार सात सय सैनिकलाई क्वारेन्टिनमा राखिएको जनाएको छ।

समाचारमा जनाइएअनुसार मृत्यु भएका सैनिकहरू चीन र उत्तर कोरियाको सीमाक्षेत्रमा खटिएका थिए।
सैन्य नेतृत्वले ब्यारेकहरूमा जिम्मा पाएका अस्पताल उच्च ज्वरो, निमोनिया, टिबीका कारण मर्ने सैनिकहरूको विवरण मागेपछि यो तथ्य सार्वजनिक भएको हो। सैनिक नेतृत्वले अहिले क्वारेन्टिनमा रहेका सैनिकको विवरण पनि मागेको छ। अस्पतालहरूलाई मृत्यु भएकाहरूको शव जलाउन पनि भनिएको छ। उच्च अधिकारीहरूले पहिलादेखि नै स्वास्थ्य अवस्था कमजोर भएका सैनिकहरूको विशेष ख्याल गर्न पनि निर्देशन दिएका छन्।
उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसको प्रभावबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीले कोरोनाको आशंकामा १० हजार उत्तर कोरियालीलाई क्वारेन्टिनमा राखिएको समाचार छापेको छ। तीमध्ये ४ हजार जनालाई कोरोनाको लक्षण नदेखिएपछि घर फर्कन दिइएको छ। उत्तर कोरियाको रोदोङ सिन्मुन पत्रिकाले भने अहिलेसम्म कोरोना भाइरस उत्तर कोरिया प्रवेश नगरेको समाचार छापेको छ।

















प्रतिक्रिया