Logo

हेर्दा हेर्दै यति छिट्यो बन्यो धरहरा : ९ तलासम्म उठिसक्याे, खटिएका छन् १५० कामदार…(हेर्नुहोस् भिडियो)

काठमाडाैँ, २७ फागुन – ०७२ सालकाे भूकम्पले ध्वस्त भएकाे ऐतिहासिक धरहराकाे नयाँ स्वरूप निर्माण कार्यले तीव्रता पाएकाे छ ।

विसं २०७७ असोज महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अघि बढेको छ । नौ तलाको काम जारी रहेको र हालसम्मको ३३ प्रतिशत निर्माण सम्पन्न भएकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो ।

उहाँका अनुसार धरहरामा हालसम्म रु ८५ करोड खर्च भइसकेकाे छ । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा रु ३ अर्ब ४८ करोड खर्च हुने जनाइएको छ ।

१५० कामदार दैनिक खटिन्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष धरहरा पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् ।

पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछन् । साथै एउटा परम्परागत भर्याङ रहने जनाइएकाे छ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए तापनि भित्र भने २२ तला रहनेछन् । यसकाे कुल उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्