Logo

चीनले भन्यो : नेपाललाई औषधी र प्रविधि दिन तयार छौँ

काठमाण्डाै – चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो ।

चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा पनि जानकारी दिनुभयो । राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताउनुभयो ।

मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्