Logo

कोरोनाबाट बच्‍न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै !

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो।

त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्‌। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलबाट दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्।विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुककाे सूचीमा राखिसकेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ। भारतमा कोभिड-१९ को संक्रमणका कारण अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने १६९ जना संक्रमित भएका छन्‌।

मानवीय हताहती बढेसँगै भारतीय नागरिकहरू त्रसित भई संक्रमणबाट जोगिन नेपाल आउन थालेको बताएका छन्‌। बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएकाे बताए।उनी भारतको चेन्नाइबाट आएका हुन्। उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए।

नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाई छ। अप्रिल दोस्रो हप्तासम्म उनी पढने कलेज छुट्टी छ। ‘त्रिभुवन विमानस्थल भित्रको स्वास्थ्य परीक्षण गर्ने शैली चाहिँ खासै प्रभावकारी लागेन,’ उनले भने। भारतीय विमान स्थलमा नेपालमा जस्तो स्वास्थ्य परीक्षण नभएको उनले बताए। विदेशबाट आएका नागरिकलाई नेपालमा ‘थर्मल गन’ र ‘स्क्रिनिङ’ गरेर परीक्षण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्