काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकमार्फत शृङ्खलाबद्ध रूपमा सुन तस्करी भइरहेको खुलेको छ। पछिल्लो ९ दिनको अवधिमा मात्रै विमानस्थलबाट करिब ७ केजी सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली सार्वजनिक भएको हो। तस्करहरूले ज्याकेटको खल्ती, मलद्वार र भित्री वस्त्र (अन्डरवेयर) भित्र सुन लुकाएर नेपाल भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ।
मङ्सिर २ गते राति दुबईबाट हिमालय एयरलाइन्सको उडानमार्फत काठमाडौँ आइपुगेका चिनियाँ नागरिक बिनबिन लि विमानस्थल भन्सारको वाकथ्रु गेट पार गर्न खोज्दै थिए। राति ११ बजेर ४१ मिनेटमा विमानस्थल ओर्लिएका उनलाई त्यहाँ खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले ज्याकेट खोलेर एक्स–रे मेसिनमा राख्न आग्रह गरे।
सुरुमा उनी केही अलमलमा परे पनि सुरक्षाकर्मीले पुनः आग्रह गरेपछि ज्याकेट एक्स–रे मेसिनमा राख्न बाध्य भए। त्यस क्रममा ज्याकेटको खल्तीमा अर्धठोस धातु रहेको संकेत देखिएपछि उनी असिनपसिन भए।
ज्याकेटको खल्ती खोलेर जाँच गर्दा चारवटा डल्ला आकारमा बनाइएको १ केजी ६०५ ग्राम अर्धठोस सुन फेला पर्यो। अहिले उनीमाथि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको छ।
यो घटना एक्लो भने होइन। लि पक्राउ पर्नुभन्दा एक दिनअघि अर्थात् मङ्सिर १ गते पनि हङकङबाट आएकी चिनियाँ महिला सुनसहित पक्राउ परेकी थिइन्। चिनियाँ नागरिक झान गुओकिङको साथबाट ६३५ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक धनबहादुर बरुवालले जानकारी दिए।
बरुवालका अनुसार मङ्सिर १ गतेदेखि लगातार चिनियाँ नागरिकहरूले अवैध रूपमा ल्याएको सुन बरामद भइरहेको छ। पछिल्लो ९ दिनमा मात्रै विमानस्थलबाट करिब ७ केजी सुन बरामद भएको उनले बताए।
यसैबीच, मंगलबार राति क्याथे प्यासिफिकको उडानमार्फत हङकङबाट आएका दुई चिनियाँ महिला भन्सारको वाकथ्रु गेट र एक्स–रे जाँच पार गरेर बाहिर निस्किएका थिए। उनीहरू सुरक्षाकर्मीको प्रारम्भिक जाँचबाट उम्किए पनि विमानस्थल सुरक्षा कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीको निगरानीमा परे।
शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढायो। विस्तृत स्वास्थ्य परीक्षण तथा जाँचका क्रममा मलद्वार र भित्री वस्त्रभित्र लुकाएर ल्याइएको अवस्थामा अर्धठोस सुन फेला परेको थियो।
चिनियाँ नागरिक ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङको साथबाट २ केजी ३४८ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
तस्करीको नयाँ शैलीले सुरक्षा निकायलाई चुनौती
विमानस्थलको नियमित भन्सार जाँच पार गरेर बाहिर निस्किन खोज्ने तस्करहरूले शरीरका संवेदनशील भाग तथा भित्री वस्त्रमा सुन लुकाएर ल्याउन थालेपछि सुरक्षा निकायका लागि थप चुनौती देखिएको छ।
ज्याकेटको खल्तीमा सुन लुकाएर ल्याउनेदेखि मलद्वार र अन्डरवेयरभित्र लुकाएर सुन ओसारपसार गर्ने घटनाले विमानस्थलमा भइरहेको सुन तस्करीको शैलीलाई उजागर गरेको छ।
पछिल्लो ९ दिनमै करिब ७ केजी सुन बरामद हुनुले यसमा संलग्न व्यक्ति तथा सम्भावित समूहको सञ्जालबारे थप अनुसन्धान आवश्यक देखिएको छ। बरामद सुन कसका लागि ल्याइएको थियो, यसको पछाडि संगठित गिरोहको संलग्नता छ वा छैन र नेपालमा यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ।
विमानस्थल भन्सार कार्यालय र सुरक्षा निकायले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइरहेका छन्।















प्रतिक्रिया