Logo

होसियार: बन्द गरिएका भनेका नाकामा बेरोकताेक आउजाउ

काठमाडौँ, ६ चैत – सरकारले भारतसँगका महत्त्वपूर्ण चार नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा र गड्डाचौकीबाहेक अन्यलाई बन्द गरेको घोषणा गरे पनि ती नाकामा बेरोकतोक आवतजावत जारी रहँदा कोरोना संक्रमण फैलिने उच्च जोखिम छ । बन्द गर्ने भनिएका केही नाकामा स्थानीय तहले हेल्थ डेस्क राखे पनि मास्कसमेत यथेष्ट नहुँदा त्यहाँ खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट ओहोरदोहोर गर्नेको जाँच गर्न खटिएका विद्यानगर स्वास्थ्यचौकीका अहेब अनवर अहमद खाँ र भगवानपुर स्वास्थ्यचौकीका अहेब नवीनप्रसाद डाँगीलाई सरकारले कुनै सुरक्षा उपकरण नदिएपछि आफैंले सामान्य मास्क किनेर लगाएका छन् । नाकामा कृष्णनगर नगरपालिकाले एउटा टेन्ट टाँगेको छ, जसको मुनि बसेर उनीहरू डिजिटल थर्मोमिटरले ज्वरो नाप्छन्, यात्रुको नाम लेखेर पठाउँछन् । केही गडबडी देखिए दिन सामान्य औषधि पनि उनीहरूसँग छैन ।

मंगलबार मध्याह्नसम्म उनीहरू काखीमा थर्मोमिटर च्याप्न लगाएर ज्वरो नाप्थे । पन्जाबबाट आएका ६ नेपाली विद्यार्थीले उक्त थर्मोमिटरले ज्वरो नाप्दा संक्रमण सर्ने भन्दै नाप्न नमानेर नाराबाजी नै गरेपछि नगरपालिकाले एक चिकित्सकसित मागेर इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको छ । ‘भगवान् भरोसा काम गरिरहेका छौं,’ अहेब डाँगीले भने, ‘भाग्यले अहिलेसम्म केही भएको छैन ।’ उनीहरू जस्तै अर्को नाका सुठौलीमा दुई महिला स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरू पनि १० देखि ४ बजेसम्म ज्वरो नाप्दै बस्छन् । नजिक आउनेलाई नाप्छन् । नभए छाड्छन् । अघिपछि सीमा खुला हुन्छ । जो आए/गए पनि मतलब हुँदैन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्