Logo

पशुपतिनाथ लगायत देशभरका मठ मन्दिर सुनसान !

कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् ।

बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर नबस्न आग्रह गरेपछि बिहीबारदेखि नै पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि शुरु भएको देशोद्धार पूजा, बज्रेश्वरी, वत्सलेश्वरी जात्रामा पनि विगत वर्षभन्दा कम भक्तजनको उपस्थिति छ ।

यसैगरी गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मठ मन्दिरमा भक्तजनको कम उपस्थिति छ । सरकारको मार्गनिर्देशन अनुसार पशुपति क्षेत्रमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगराउने विषयमा चारवटै सुरक्षा निकायसँग छलफल गरिएको बताईएको छ ।

देशोद्धार पूजा एवं जात्रामा पनि विधि पूरा गर्ने गरी कमभन्दा कम मानिसलाई उपस्थित हुन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका भण्डारखाल, वनकाली, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन कोषले भक्तजनलाई आह्वान गरेको बताइएको छ ।

मैतीदेवी मन्दिर परिसरमा एक महिनाअघि नै पूजा एवं भोजका लागि सत्तल पक्का गरेका भक्तजनले कोरोनाको सन्त्रासका कारण वैशाख अन्तिम साता गर्ने गरी स्थगन गरेका छन् । दैनिकरूपमा केही न केही अनुष्ठान भइरहने मन्दिर क्षेत्रमा बुधबारदेखि नै सुनसान रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सुपरभाइजर गृष्मा श्रेष्ठले जानकारी दिइन् ।

यसैगरी बौद्धनाथ चैत्यलगायत बौद्ध क्षेत्रका गुम्बामा पनि थोरै भक्तजको उपस्थिति छ । बौद्धको घ्योइलिसाङ उद्यानमा जम्मा हुने मानिस पनि कम छन् । चावहिलको धन्दो चैत्य परिसरमा कमै मानिस छन् । यहाँ सामान्य अवस्थामा आराम गरेर बस्नेको भीड देखिन्थ्यो । विद्यालयलगायत शैक्षिक संस्था बन्द भए पनि प्रायः सबै बालबालिका गाउँ गएका छन् । राजधानीमै रहेका बालबालिका पनि घर बाहिर निस्किएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्