नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा
विश्वमा फैलिएको कोभिड–१९को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ ।
विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस सञ्चालन गर्न लागेको हो ।
तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् ।ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी दिए । “आइतबारदेखि सञ्चालन हुने बससेवा यात्रुको सङ्ख्यामा वृद्धि भएर विस्तारै बढाउँदै लान्छौँ”, उनले भने । देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो ।