कोरोना भाइरसका कारण ६ हप्ताकाे शिशुकाे निधन !
६ हप्ताको शिशुको निधन भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको निधन भएको जानकारी दिनुभयो ।बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भन्नुभयो, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”
स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताउनुभयो । कोविड–१९ का कारण यति कम उमेरका बच्चाको निधन भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भन्नुभयो ।कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको निधन भएको पुष्टी गर्नु भएको छ । कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको निधन भएको छ ।