कतारमा कोरोना संक्रमितको संख्या १३२५ पुग्यो ! सेयर गरौ
कतारमा १३ सय २५ जना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । यहाँ शनिबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक सय ९ जना निको भएर घर फर्किएका छन् भने जम्मा ३१ हजार ९ सय ९१ जनाको जाँच भएको छ । त्यस्तै हाल यहाँ १२ सय १३ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।
योसँगै कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । नयाँ केसहरु क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आवश्यक चिकित्सा उपचार भइरहेको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले दैनिक प्रयोगशाला परीक्षणहरूको संख्या बढाउन केन्द्रीय प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्ने तथा छिटोभन्दा छिटो परिणाम दिनका लागि काम गरिरहेको मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले समाजका सबै सदस्यहरूलाई संक्रमणको जोखिम कम गर्नका लागि स्वास्थ्य सहयोग र स्वास्थ्य सम्बन्धी सबै मार्ग निर्देशनहरु र प्रतिरोधात्मक उपायहरूको पूर्णरूपमा पालना गर्न अनुरोधसमेत गरेको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।