Logo

‘पैसा धेरै भएर सहयोग गरेको होइन, संघर्ष गरेर आएको हुँ, अरुको दुख बुझ्छु’ !

नायक पल शाहले लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरे । उनको यो घोषणा संगै सामाजिक सञ्जाल र समाचारहरुमा निकै प्रशंसा भयो । नायक पल शाहले पनि सामाजिक सञ्जाल मार्फत नै यो कुराको घोषणा गरेका थिए । उनको यो घोषणासंगै तारिफका कमेन्ट उनकै सामाजिक सञ्जालमा भरिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकलाई सहयोग गर्ने बताए ।

उनी चाहन्थे आफ्नो यो सुरुवाती प्रयास पछि अन्य चलचित्रकर्मीहरुले पनि सहयोगका हात बढाउनेछन् । त्यसैले आफुले यस्तो घोषणा गरेको उनले बताएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि दिनहुं काम गरेर खाने ज्याला मजदुरहरु वेखर्ची भएका छन् । त्यस्ता ब्यक्तिलाई सहयोग गर्न सरकारले आर्थिक सहयोग कोष पनि स्थापना गरेको छ । तर नायक शाहले त्यो सहयोग आफै दिने बताएका छन् । आफुले दिएको सहयोग रकम सम्बन्धीत प्राविधिक कर्मचारीकै हातमा पुगोस् भन्ने उनी चाहन्छन् ।

चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् । आफूले पनि अभावका दिनहरु भोगेर आएकाले उनीहरुको पनि दुख आफुले बुझेकाले सहयोग गर्ने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’

दैनिक काम गरेर पेट पाल्ने प्राविधिकहरु अहिले आफ्नो कोठाभाडा तिर्न सक्ने पनि अवस्था नरहेको आफुले बुझेकाले त्यस्ता परिवारलाई सहयोग गर्ने उनको इच्छा हो । उनी अहलिे पनि काठमाडौंमा भाडामा बस्दै आएको बताएका छन् । पलले भने, ‘म अहिले पनि भाडामा नै बस्दै आएको छु । त्यसैले भाडामा बस्नेहरुको पीडा थाहा छ ।’

आफूसँग पैसा बढि भएर सहयोग गर्न नलागेको उनको भनाई छ । म दुख गरेर यो अवस्थासम्म आएको हुँ त्यसैले पैसाको महत्व थाहा छ । मेरो लागि १ हजारले पनि निकै महत्व राख्छ । त्यही पनि मेरो भन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।’ प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको सहयोगमा विपन्न प्राविधिकहरुको लिस्ट तयार गरेर उनीहरुलाई सहयोग हस्तान्तरण गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्