प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् ।
आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि दावी गरे । आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको पनि ओलीले टिप्पणी गरे ।
‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिदैन । एउटै शर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ’ उनले भने, ‘अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं ।’
अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्याए । कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
प्रतिक्रिया