Logo

सर्लाहीका व्यवसायीको हत्या गराउन लाखौको सुपारी दिने लेखापाल पक्राउ

काठमाडौं, चैत ७ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीको हत्या प्रयास गराउन खोजेको आरोपमा वाग्मती नगरपालिकाका लेखापाल बिश्व राज पोख्रेल प्रक्राउ परेका छन् । प्रहरीले पोखरेललाई म्याग्दिबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा पोखरेललाई पक्राउ गरिएको हो ।

यसअघि गत माघ १८ गते व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले सुपारी दिएको भन्दै अनलाईन टिभी नेपाल सागको कुराकानीमा ध्यानकर्षण गराएको थियो । लेखापाल पोखरेलले तीन जना भारतीय सार्प सुटरलाई सुपारी दिएर आफ्नो हत्या गर्न खोजेको व्यवसायी रायमाझीले दाबी गर्दै आएका थिए ।

हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका तीन जना सुटरले आफूलाई गोली हान्ने प्रयास गरेपनि जोगिन सफल भएको पत्रकारसम्मेलनमार्फत रायमाझीले सार्वजनिक गरेका थिए । हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएकोसमेत दाबी गर्दै आएका छन् । योजना चुहिएपछि रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए । सोहि जाहेरीको आधारमा प्रहरीले पोखरलेलाई पक्राउ गरेको हो ।

आफूलाई एउटै स्कुल पढेका विश्वराज पोखरेलले गोली हान्न भारतीय सुटरलाई सुपारी दिएको रायमाझीले बताउँदै आएका छन् । रायमाझीले पोखरेलको आफन्तको जग्गाको सिमानामा रहेको, विश्वराजका आफन्तले भोगचलन गरेको सम्पत्ति उनीहरुकै सल्लाहमा खरिद गरेको बताएका छन् । तर पछि विभिन्न वहाना गरेर विवाद झिकेपछि आफु बाध्य भएर सोही विषयमा अदालत जान बाध्य भएको उनको भनाई छ । अहिले मुद्दा विचाराधिन अवस्थामा रहेको छ । पोखरेलकोको सबै प्रमाण नबिल बैंकको सिसिटिभिमा कैद भएको जानकारी दिँदै उनले आवश्यकता परे पेश गर्न सक्ने पनि बताउँदै आएका छन्।

सुटरहरु बसेको होटलमा सरकारी मोटरसाइकलमा पोखरेल आफै पुगेर उनीहरुले खाएको र सुतेको पैसा तिरेको पनि प्रमाण आफुसँग भएको रायमाझीको भनाई छ । पछिल्लो समय पोखरेल लुकेर बस्दै आएका थिए । उनको मोवाइल पनि स्विच अफ थियो। गत पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्