तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा निर्माण गरिएको तिलोत्तमा बहुउद्देश्यीय टावरको पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका छन् ।
११ तले भ्यू टावर तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको हो । १ सय ३४ फिट उचाइको टावरको पहिलो तला ३५ सय ९५वर्ग फिटमा फैलिएको छ । नगरपालिकाले २०७३/०७४ मा टावर निर्माण सुरु गरेको थियो । तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले टावर निर्माणमा ११ करोड ५४ लाख ८१ हजार रुपैयाँ खर्च भएको बताए । टावरको उद्घाटन गर्दै ओलीले देश जिल्ला, पालिका, वडा हुँदै टोलसम्म बाँडिएकाले एकै प्रकारको विकासले समग्र विकासको प्रतिनिधित्व गर्न नसक्ने बताए । नगरपालिकाले प्रविधिको प्रयोग गरेर तयार गरेको बहुउद्देश्यीय टावर विकासको पनि नयाँ प्रविधि भएको बताए । ‘यसले आकर्षण, मनोरञ्जन, रोगजारी र आम्दानी पनि दिने छ,’ उनले भने, ‘प्रविधिको अधिकतम प्रयोग भएको टावरबाट नगरबासीले अत्याधिक लाभ लिन सक्नुपर्छ ।’ टावरको डिजाइन र प्रविधि नयाँ भएको भन्दै उनले अब कृषि, उद्योगलगायतका हरेक क्षेत्रमा नयाँ प्रयोग र विकास हुनु जरुरी रहेको बताए ।
नेपालका हरेक चिज र वस्तुहरु सुन्दर रहेपनि त्यसलाई चित्रण गर्न र प्रस्तुत गर्न नसक्दा नेपाल पछि परेको उनले बताए । तिलोत्तमा उत्पादनका हिसाबले पनि पर्याप्त सम्भावना बोकेको नगर भएको भन्दै ओलीले कृषि प्रविधिमा पनि आधुनिकताको प्रयोग गर्न सुझाव दिए । कृषिमा आत्मनिर्भर बनाउन अभियानमा लाग्न र तिलोत्तमाका हरेक घरलाई विषादी युक्त बनाउन आग्रह गरे । ‘अब सबै भन्सालाई औषधालयमा परिणत गर्ने गरी मेहनत गरौं,’ उनले भने, ‘विषाक्त खानाले रोगी बनाउँछ, स्वास्थ्य खानेकुरा खाऔं, विषादीयुक्त चिजविज भान्सामै पुग्न नदिऔं ।’ त्यसमा पनि तिलोत्तमाले प्रयाप्त ध्यान दिन उनले आग्रह गरे ।
प्रतिक्रिया