नेपालमा ‘केजीएफ-२’को क्रेज : बिहान ६ देखि राति साढे १० बजेसम्मका शो हाउसफुल


‘अहिलेसम्म मलाई बिहान ६ बजे नै हलमा शो भएको थाहा थिएन, त्यो पनि हाउसफुल,’ रञ्जना सिनेप्लेक्सका म्यानेजर विनोद पौडेलले भने, ‘केजीएफप्रतिको दर्शकको क्रेज निकै उच्च देखिएको छ ।’

एकाबिहानैको शो हाउसफुल हुनुलाई उनले दर्शकीय क्रेज भएको बताए । ‘सात-आठबजेदेखि त शोहरु हुने गर्थे । दबंग लगायतका फिल्ममा गरेको त्यही हो । बिहान ६ बजेको शोमा ट्रायल गरौं भनेर गरेको, हाउसफुल भयो,’ उनले भने । क्यूएफएक्स, बिग मुभिजले पनि बिहान ६ बजेदेखि नै शो दिएका छन् । राति साढे १० बजेको सबै शो शनिबारसम्म हाउसफुल छन् । भारतमा समेत बिहान ६ देखि मध्यरातसम्मकै शो हाउसफुल छन् । यसअघि ‘आरआरआर’को पनि मध्यरातमा शो थियो ।

झण्डै तीन घण्टाको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले क्यूएफएक्समा मात्रै बिहीबार ७५ शो पाएको छ । कुनै फिल्मले नेपाली हलमा पाएको यो अहिलेसम्मकै उच्च शो हो । वैशाख १ गते रिलिज हुने यो फिल्मसँग नेपालको‘ ए मेरो हजुर ४’ पनि रिलिज हुँदैछ ।